काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा संचारमन्त्री मोहनबहादु बस्नेतले बालुवा तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न तीन दिने अल्टिमेटम दिएका छन्।
सिन्धुपाल्चोकमा बालुवा तस्करीमा नेपाल कम्युनिस्ट पार्टीका नेता नै संलग्न भएको समाचार प्रकाशन भइरहेकाे र यस विषयमा सरकारी निकाय नै चुप बसेको भन्दै बस्नेतले अल्टिमेटम दिएका हुन्।
‘सिन्धुपाल्चोकको इन्द्रावती बलेफी, भोटेकोसी र सुनकोसी नदी किनारामा अवैध रुपमा बालुवा तस्करहरुले नदी दोहन गरी पहिरोको प्रकोप समेत बढाइरहेका छन्,’ बस्नेतले फेसवुबमा लेखेका छन्‚ ‘असारदेखि भदौ महिना भर नदीमा गिट्टी, ढुङ्गा‚ बालुवा उत्खनन गर्न नपाउने कानुन हुँदाहुँदै सिन्धुपाल्चोकमा भने कानुनविपरीत रातभर हजारौं टिप बालुवा निकालेर काठमाडौं लगिरहेका छन्।’
राज्यले बनाएको नियम कानुनविपरीत यसरी बालुवा निकालिएको विषयमा विभिन्न संचार माध्यमबाट समाचार सार्वजनिक हुँदाहुँदै पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैध रुपमा बालुवा निकाल्न संलग्न हुनेहरुलाई नियन्त्रणमा नलिएकोमा आक्रोश व्यक्त गर्दै बस्नेतले यस विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले ३ दिनभित्र आवश्यक कारबाही सुरु गर्नुपर्ने बताएका छन्।
उनीहरुलाई तोकिएको समयभित्र नियन्त्रणमा नलिए सिन्धुपाल्चोकका बाढी पहिरोको पिडामा परेका र न्यायप्रेमी नागरिकहरुलाई लिएर तस्करहरुले निकालेका बालुवा जफत गर्न र तस्करहरुलाई पक्राउ गराउनुका साथै अवैध रुपमा निकालेको बालुवा बाढी/पहिरो पीडितहरुको आवास निर्माण गर्न वितरण गर्न लगाउन जनदबाब सिर्जना गरिनेसमेत जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।