काठमाडौं- नेपाल राष्ट्र बैंकले न्युनतम पुँजीकोष कायम नगर्ने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न रोक लगाएको छ। आर्थिक वर्ष अवधिको कुनै एक महिनामा पनि पुँजीकोष अनुपात नियमबमोजिम कायम नभएको खण्डमा समेत बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न नपाउने भएका हुन्।
नेपाल राष्ट्र बैंकले 'क' 'ख' 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७६ संशोधन गर्दै आर्थिक वर्षको कुनै एक महिनामा पुँजीकोष कायम नभए पनि लाभांश दिन नपाउने व्यवस्था गरेको हो।
यसभन्दा अगाडि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको विचको अवधिमा पुँजीकोष नपुगेको तर अन्तिम महिनामा पुगेको खण्डमा लाभांश वितरण गर्न पाउने व्यवस्था थियो। तर राष्ट्र बैंकले लाभांश वितरणमा थप कडाइ गर्दै आर्षिक वर्षैभरि पुँजीकोष अनुपात तोकिएबमोजिम नै हुनुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह हुने अवस्थामा नेपाल राष्ट्र बैंकको आखामा छारो हाल्दै आर्थिक वर्षको अन्तिम महिनामा तोकिए बमोजिम पुरा गर्ने र अघिल्ला महिनमा उल्लङ्घन गर्ने गरेका थिए। तर बैंकहरुले १२ महिना नै तोकिएको पुँजिकोष अनुपात पुरा गर्नुपर्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।