काठमाडौं- कुनै पनि बैंक तथा वित्तीय संस्थामा दुई प्रतिशतभन्दा धेरै संस्थापक शेयर हुने सेयर धनीले शेयर धितो कर्जा लिदा नेपाल राष्ट्र बैंकको अनुमति चाहिने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६ संशोधन गर्ने क्रममा यस्तो व्यवस्था गरेको हो।
दुई प्रतिशतभन्दा धेरै संस्थापक शेयर हुनेले शेयर धितो कर्जा लिने क्रममा जुन संस्थाको शेयर धितो राखिने हो सो संस्थाले निजको शेयर स्वामित्व तथा धितो रहे/नरहेको विवरण समेत पेश गरी स्वीकृतिका लागि माग गर्नुपर्ने व्यवस्था गरिएको छ।
संस्थापक शेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाइने छैन। तर ०.५ प्रतिशतसम्म संस्थापक शेयर स्वामित्व रहेका संस्थापकले शेयर धितो राखी कर्जा उपभोग गरिरहेको भएमा कर्जाको सम्पुर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा यस्तो कर्जा नवीकरण गर्न कुनै बाधा पर्ने छैन।
त्यस्तै विदेशी धितो सुरक्षणमा कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ। इजाजतपत्रप्राप्त संस्थाले हक कायम गर्न नसकिने किसिमको विदेशमा रहेको धितो सुरक्षणमा कर्जा लगानी गर्न पाउने छैन। यो भनेको विदेशी कम्पनी जसको नेपालमा कुनै अनुमति छैन र उसले नेपालका बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन खोजेमा पाउने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।