काठमाडौं-कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएका छन्।
स्पेनिस क्लब रियल मड्रिडका रोड्रिग्वेज दुई वर्षका लागि एभर्टनमा अनुबन्धित भएका हुन्। उनलाई २० मिलियन पाउण्डमा एभर्टनले आफ्नो क्लबमा भित्र्याएको हो।
२९ वर्षीय रोड्रिग्वेजले सन् २०१४ मा भएको विश्वकपमा गोल्डेन बुट जितेका थिए। त्यसपछि भने उनको उचाइ एकाएक चुलिएको थियो। सबैको नजर पर्दै गर्दा उनी २०१४ मै फ्रेन्च क्लब मोनाको छोडेर रियल मड्रिड आए। तर रोड्रिग्वेजको रियल मड्रिड यात्रा भने राम्रो हुन सकेन। विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेको त्यो चमक रियल मड्रिडले आफ्नो क्लबमा आएपछि रोड्रिग्वेजबाट पाउन सकेन। जसको कारण २०१७ देखि २०१९ सम्म रियल मड्रिडले लोनमा जर्मन क्लब बायर्न म्युनिकमा पठायो।
ग्यारेथ बेलसँगै घाँडोको रुपमा क्लबमा रहेका स्टार खेलाडी रोड्रिग्वेजलाई रियलले बेच्न सफल भएको हो।
यता, रोड्रिग्वेज भने आफू एभर्टनसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन्। उनले भनेका छन्, ‘राम्रो क्लबमा जोडिन पाउँदा खुशी छु। म यहाँ जित्नको लागि आएको हुँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।