काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको मोडालिटीको विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन सोमबार महासंघकी अध्यक्ष भवानी राणालाई बुझाउने भएको छ।
महासंघको ५४ औं साधरण सभा कसरी गर्ने भन्ने विषयमा व्यवसायीहरूबीच मदभेद भएपछि महासंघको कार्यसमिति बैठकले ६ सदस्यीय कमिटी गठन गरेको थियो। महासंघको साउन २१ गते बसेको कार्यसमितिको बैठकले व्यवसायी डिबी बस्नेतको संयोजकत्वमा एक कमिटी बनाएको थियो।
कमिटी सदस्यमा अरुणराज सुमार्गी, बिनोद ढकाल, सुनिलगोपाल श्रेष्ठ, भरत आचार्य र सन्जित आचार्य रहेका थिए।
समितिलाई साधारण सभा तथा निर्वाचनको मिति, सञ्चालन मोडालिटी तयार गरी पेस गर्न भनिएको थियो। सोही कमिटीले सोमबार रिर्पोट बुझाउन लागको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
महासंघको ५४ औं साधारण सभा पहिलो पटक चैत २८ र २९ गतेको लागि तोकिएको थियो। तर, कोरोना संक्रमण बढ्दै गएको भन्दै पहिलो पटक महासंघले साधरण सभा जेठको पहिलो साता गर्नेगरी सारेको थियो। जेठको पहिलो साता पनि साधारण सभा हुन नसकेपछि पुनः साउन अन्तिम साताका लागि महासंघको साधरण सभा तोकिएको थियो। उक्त मितिमा सरकारले सभा सम्मेलन गर्न अनुमति नदिएको भन्दै महासंघको पदाधिकारीको छलफलमा बहुमतमा निर्णय गर्दै सरकारले सभा सम्मेलन गर्न दिएको १५ दिनभित्र साधरण सभा गर्ने भन्दै साउनको साधरण सभा स्थगित भएको थियो।
साउनको साधारण सभा स्थगित भएसँगै व्यवसायीहरूबीच साधारण सभा हुनैपर्ने र गर्न नहुने भन्दै दुई पक्षीय विवाद भएको थियो। विवाद बढ्दै गएपछि महासंघको कार्यसमिति बैठकले साधारण सभाको मिति र मोडालिटीको विषयमा अध्ययन गरी सुझाव पेस गर्न कमिटी बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।