काठमाडौं- 'नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल'ले सरकारले उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारले लागू गरेको निषेधाज्ञाबारे पुनर्विचार हुनुपर्ने माग गरेको छ। विभिन्न देशहरुले जस्तै कोरोनाको संक्रमण नियन्त्रणका लागि लकडान वा निषेधाज्ञाको विकल्प सोची कदम चाल्न सरकारलाई नाडाले आग्रह गरेको छ। उसले समयलाई बुझेर काम गर्न पनि आग्रह गरेको छ।
‘लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभइ बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको छ। यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ,’ नाडाले भनेको छ, ‘आजको दिनमा लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन्। उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने दारुण अवस्था सिर्जना भएको छ। अब अति भयो, समयलाई बुझौ, संसारलाई नियालौ र अव काम गराैं।’
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले २०७७ भाद्र ४ गतेदेखि लागू हुने गरी राजधानीलगायत देशका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरेको छ। देशमा बढदो कोरोना संक्रमणलाई दृष्टिगतगरी सरकारले यो निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको छ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भइरहेको तर सत्यतथ्य यही नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ–आफ्नै ढंगबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रक्रिया अवलम्बन गरिरहेका छन्। दक्षिण पूर्वी एसियाका केही देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि छन्।
सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्ने धारणा नाडाको छ। अब जनता स्वयं नै आफ्नो दुख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रबल हुँदै गएको छ। यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल जारी निषेधाज्ञाबारे पुनर्विचारका लागि नाडाले सरकारलाई अपिल गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।