काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा समस्या आएका कारण रोकिएको ठेक्काको काम पुनः अघि बढेको छ।
कार्यालयको साइटमा प्राविधिक समस्या आएर स्थगन भएको पूर्वपश्चिम रेलमार्गसहितका विभिन्न ठेक्काको प्रक्रिया अघि बढेको हो।
साउन २४ देखि २८ गतेसम्म खोलिएका ठेक्काहरुको डकुमेन्ट डाउनलोड नभएका कारण सार्वजनिक खरिद अनुगमन कार्यालयले रेलमार्गसँगै विभिन्न ठेक्काका प्रक्रिया स्थगित गरेको थियो। कार्यालयले दुई साताभन्दा बढी समय लगाएर डाटा रिकभर गरेकाले समस्या समाधान भएको कार्यालयले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख छ।
योसँगै विद्युतीय रेलमार्गको ट्रयाकबेड निर्माणका लागि आह्वान गरेलगत्तै विवादमा परेको ठेक्का प्रक्रिया अघि बढाउन रेल विभागलाई चलखेलको बाटो खुलेको छ। इनरुवा–काकडभिट्टा रेलमार्गको एलाइन्टेमेन्ट झापा, मोरङ र सुनसरीमा पर्छ। करिब ७ सय बिघा जग्गा अधिग्रहण गर्नपुर्नेछ। तर अहिलेसम्म जग्गाको मूल्याङकनका लागि समिति समेत गठन भएको छैन। तीनवटा जिल्लामा छुट्टाछुट्टै मूल्यांकन समिति बनाउनुपर्ने कानुनी व्यवस्था छ।
३२ अर्ब रुपैयाँको ठेक्कालाई सीमित नेपाली कम्पनीले मात्रै पाउने गरी १ सय ६ किमी रेलमार्गलाई ३४ प्याकेज बनाएर ठेक्का प्रक्रिया अघि बढाइएको हो। ट्रयाक बेडको लागि मात्रै ठेक्का निकालिएको भए पनि रेलमार्गमै काम गरेको हुनुपर्ने प्रावधान राखेपछि १८ वटा कम्पनीले मात्रै ठेक्का पाउने भएका छन्।
रेल विभागको सर्तअनुसारको मापदण्डका आधारमा १८ वटा कम्पनी मात्रै प्राविधिक प्रस्तावमा पास गर्न पाउने छन्। कार्यालयले साउन २४ देखि २८ सम्म बोलपत्र, आशयपत्र, सिलबन्दीदरभाउ पत्र डाउनलोड हुने भएकाले सचिव स्तरिय निर्णय गरि सम्बन्धित कार्यालयले प्रक्रिया अघि बढाउन सक्ने जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।