काठमाडौं- नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरलाई विदेशी साझेदार भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ। भटनागरलाई फिर्ता बोलाएसँगै भारतीय स्टेट बैंकले दीपककुमार डेलेलाई प्रमुख कार्यकारी अधिकृत बनाएर पठाएको छ।
भदौ १९ गते बैंक सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको निर्णयलाई सदर गरी भटनागरलाई फिर्ता पठाउने स्वीकृति दिएको हो। सोही बैठकले दीपककुमार डेले पदमा पदबहाल नहुँदासम्मको लागि नायब कार्यकारी प्रमुख शुभकान्त कानुनगोलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल एसबिआई बैंक र विदेशी साझेदार भारतीय स्टेट बैंक बीचमा प्राविधिक सेवाका विषयमा सझौता भएको छ। प्राविधिक सम्झौता अनुसार प्रमुख कार्यकारी लगायत केही विशिष्ट श्रेणीको पदमा उतैबाट पठाउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।