काठमाडौं- बैतडीका दुई महिने शिशु शिवांश अवस्थीलाई कलेजो दान गर्ने बुबा महेशको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ।
संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा गायक निशान भट्टराई स्वर दिएका छन्। गीत निशानको व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीतबाट आउने सम्पूर्ण रोयल्टी शिवांशको उपचारको लागि सहयोग गर्ने पनि गायक निशानले घोषणा गरेका छन्।
नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति गरेको गायक निशानले बताए। उनले भने, ‘स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ।’
गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन्। निर्देशक वाइवाले भने, ‘यो मेरो लागि अहिलेसम्मकै फरक काम हो। त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मेलेर निशुल्क रुपमा यो भिडियो तयार परेका हौँ।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएका छ।
महेश अवस्थीको कहालीलाग्दो संघर्षको कथाले आफूलाई गीत लेख्न उद्वेलित बनाएको संगीतकार कमलाले बताइन्। उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई देखाएका छौँ।’
जन्मिएको १४औँ दिनदेखि बिरामी परेका शिवांशलाई महेशले दक्षिण भारत चेन्नईस्थित डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए। नेपालमा एक महिनासम्म आइसियूमा राखेर उपचार गर्दा पनि रोगको राम्रोसँग निराकरणसमेत नहुँदा मध्ययमवर्गीय महेशले भारत पुगेर करोडभन्दा बढी खर्च गरी छोरालाई बचाएका छन्। गत मंसिर ३० मा बाबाछोराको अप्रेशन तथा शिशुमा कलेजो प्रत्यारोपण सफल भएको थियो।
लकडाउनअघि श्रीमती र उपचाररत छोरालाई चेन्नईस्थित अस्पतालमै छोडेर व्यवहार मिलाउन नेपाल आएका महेश अझै फर्कन पाएका छैनन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।