काठमाडौं-नेसन्स लिग फुटबलमा स्पेनले युक्रेनमाथि फराकिलो जित दर्ता गरेको छ। सोमबार बिहान भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टोली स्पेनको जितमा कप्तान सर्जियो रामोसले दुई गोल गरे। त्यस्तै, अंसु फाती र फेरान टोरेसले समान १–१ गोल गरे। सुरुवाती समयमै दबाबमा आएको युक्रेन खेलअवधिभर स्पेनविरुद्ध दबाबमै खेल्यो।
खेलको तेस्रो मिनेटमा नै स्पेनले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै रामोसले गोल गरेका थिए। फातीलाई डिबक्सभित्र लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो। खेलको २९औंं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै फातीले गोल गर्दै पहिलो हाफसम्म स्पेनलाई ३–० गोलको अग्रता दिलाए।
स्पेनले पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गर्दा युक्रेनले भने कुनै गोल गर्ने अवसर समेत पाएन। खेलको ८४औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४–० गोलको जित दिलाए।
लिग–ए कै समूह ‘डी’ को खेलमा भने जर्मनीले स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जर्मनीले अंक बाँड्न पुग्यो। यसअघि स्पेनसँग पनि जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।
घरेलु टोली स्वीट्जरल्यान्डविरुद्ध खेलको १४औं मिनेटमा नै गोल गर्दै जर्मनीले अग्रता लिएको थियो। जर्मनीका लागि इल्काय गुन्डगनले गोल गरेका थिए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा गोल खान पुग्यो। खेलको ५७औं मिनेटमा सिल्भान विडमेरले गोल गर्दै स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरी दिलाए।
नेसन्स लिगअन्तर्गत नै भएका अन्य खेलमा रसियाले हंगेरीलाई ३–२ ले, वेल्सले बुल्गेरियालाई १–० ले, फिनल्यान्डले आयरल्यान्डलाई १–० ले, ग्रिसले कोसोभोलाई २–१ ले, फारोइ आइल्यान्डले एन्डोरालाई १–० ले र स्लोभेनियाले मोल्डोभालाई १–० गोलले नै पराजित गरेका छन्। त्यस्तै, माल्टा र लात्भियाले १–१ गोलको बराबरी खेल्दा सर्विया र टर्कीले गोलरहित बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।