काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनपछि बजार बढ्ने हल्ला फैलाएर शेयर उठाएका लगानीकर्ताले बिक्री गर्दा आइतबार १०.४५ अंकले गिरावट भएको छ। खतिवडा हटेपछि बजार सुधार हुने आशामा शेयर किनेकाहरु आज अचम्ममा परेका छन्। हल्लाका पछाडि कुदेका लगानीकर्ताहरुको मनोविज्ञान आइतबार बजार सुधार हुने भन्ने थियो।
तर हल्ला फैलाउदै शेयर उठाएकाहरुले बेच्न थालेपछि बजार उल्टै घटेको हो। हल्लै हल्लाले विगत तीन महिनामा शेयर बजार ३०० अंकभन्दा धेरैले सुधार भएको थियो। खतिवडाले शुक्रबार नै राजीनामा दिएका छन्। तर आइतबार भने आँकलनविपरीत घट्यो।
बजार घट्न थालेपछि अलि अलि भएको नाफा पनि बुक गर्न खोज्दा आइतबार १० अंकको गिरावट भयो।
आइतबार कारोबार सुरु भएदेखि नै नाफा बुक गर्ने लगानीकर्ता हाबी थिए। जसले गर्दा व्यापार म्युचुअल फण्डको सूचक बाहेक सम्पूर्ण सूचक घटेका छन्।
अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट देखिएपनि सस्ता जलविद्युत कम्पनीको मूल्य भने बढेको छ। आइतबार १९१ वटा कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ। गत साता १५०० भन्दा माथि पुगेको सूचक आइतबारको गिरावटपछि १४९९.९७ अंकमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।