काठमाडौं-इंग्ल्यान्डले नेसन्स लिग फुटबलमा आइसल्यान्डमाथि संघर्षपूर्ण जित निकालेको छ। लिग-ए कै समूह ‘बी’ को खेलमा भने बेल्जियमले डेनमार्कलाई सहजै पराजित गरेको छ।
घरेलु टिम आइसल्यान्डलाई पराजित गर्न इंग्ल्यान्डलाई कठिन भयाे। इन्जुरी समयमा रहिम स्टर्लिङको गोलबाट इंग्ल्यान्डले जित निकाल्यो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको इंग्ल्यान्ड ७०औं मिनेटमा भने १० खेलाडीमा झर्यो। इंग्ल्यान्डका कायल वाल्करले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। खेलको ८९औं मिनेटमा आइसल्यान्ड पनि १० खेलाडीमा सीमित भयो। स्भेरिर इंगासन दोहोरो पहेँलो कार्ड खाँदै मैदान छोड्न बाध्य भए।
खेलको अतिरिक्त समय रहिम स्टर्लिङले पेनाल्टीबाट गोल गर्दै इंग्ल्यान्डलाई १-० गोलको अग्रता दिलाए। खेलको अतिरिक्त समयमै होलम्बर्ट फ्रिडजोन्सनलाई इंग्ल्यान्डका जोसेफ गोमेजले लडाएपछि आइसल्यान्डले पनि पेनाल्टी पाएको थियो। तर विर्किर विजार्नसनले पेनाल्टीबाट गोल गर्न सकेनन्। योसँगै १–१ गोलको बराबरीमा खेल टुंग्याउनबाट आइसल्यान्ड चुक्यो।
बेल्जियमले भने घरेलु टोली डेनमार्कलाई २–० गोलअन्तरले पराजित गर्दै नेसन्स लिगमा राम्रो सुरुवात गरेको छ। बेल्जियमको जितमा जासन डिनायर र ड्रिस मिर्टेन्सले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गरेको हो।
खेलको नवौं मिनेटमा नै जासन डिनायरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। खेलको ७६औं मिनेटमा बेल्जियमले अर्को गोल थप्न सफल भयो। यो पटक भने ड्रिसले गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।