काठमाडौं- कोभिड–१९ को महामारीका कारण डेरी तथा दुग्ध उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारवालाहरु बताएका छन्।
कोरोना सुरु भएदेखि हालसम्म दुग्धको निजी क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा लागेको बताइएको छ।
एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिबार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सो क्षेत्रका सरोकारवालाहरुले धारणा राख्ने क्रममा यस्तो जानकारी दिएका हुन्।
कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै बागमती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुग्ध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने बताए।
किसानले उत्पादन गरेको दूधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा निजी क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने कुरामा जोड दिए। कोरोनाका कारण अहिले सबै क्षेत्रमा समस्या भएपनि सबभन्दा बढी समस्यामा किसान रहेको भन्दै मन्त्री लामाले यसको समाधान दुग्ध क्षेत्रका उद्योगीहरुले पनि समाधान गर्नुपर्ने पनि बताए।
उनले किसानहरु मर्कामा परेका र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेकोसमेत बताए। डेरी तथा दुध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण दूधको बजारमा ३० प्रतिशत ह्रास आएको बताए। देशभरि सहकारीमा ६ लाख लिटर दूध संकलन हुने गरेकोमा त्यसमा अहिले ३० प्रतिशत कमी आएको बताउँदै उनले अहिले सबै समस्या किसानसँग ठोकिएको बताए।
किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासोसमेत उनको छ। ‘एकातिर किसानको दूध बिक्री भइरहेको छैन भने अर्कोतिर बिक्री भएका दूधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै पीडामा परेका छन्। तर सरकारले त्यसमा कुनै ध्यान दिएको छैन’ उनले भने।
डेरी उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेपनि उद्योगीहरुले किसानको दूध खरिद नगरेका कारण समस्या देखिएको छ। ‘उद्योगहरुले अहिले किसानको दूध लिएर पाउडर बनाएर राख्दा पनि हुन्छ। तर उद्योगीहरुले त्यस्तो नगरेर दूध संकलन गर्नै छाडेका छन्’ देवकोटाले भने।
त्यस्तै नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको र यस क्षेत्रले २० अर्बको नोक्सान व्यहोरिसकेको बताए। कोरोनाका कारण अर्बौको नोक्सान भएपनि डेरी उद्योग जसोतसो सेवा दिइरहेको र किसानको पनि निकै नोक्सान भएको तर किसान धेरै भएका हुनाले त्यो नदेखिएको उनले बताए।
‘दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ। तर ३१ लाख लिटर दूधमात्र बजारमा जान्छ। बाँकी किसानले आफैं उपभोग गर्ने गरेका छन्’ दाहालले भने।
कोरोना महामारीमा अत्यावश्यक वस्तुको रुपमा डेरी क्षेत्रलाई राखिएको भएपनि ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको समेत सरोकारवालाहरुले बताएका छन्। दूध ढुवानी गर्दा गाडी तथा मोटरसाइकललाई जथाभावी रोकेर दुई तीन घण्टा होल्ड गरेर दुखः दिने गरेको बताउँदै उनीहरुले डेरी क्षेत्रलाई सहज रुपमा काम गर्न दिनका लागि सरकारसँग आग्रहसमेत गरेका छन्।
दुग्ध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दुग्ध क्षेत्रमा उत्पादनको समस्या नभएको तर बिक्री वितरणमा समस्या भएका कारणले संस्थान घाटामा गइरहेको बताए। दैनिक दूध संकलनमा ३० देखि ४० रुपियाँ घाटा भइरहेको बताउँदै उनले उत्पादन भएपनि बिक्री नभएका कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भइरहेको बताए।
‘घीउ, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ। तर त्यसलाई कसरी बेच्ने भनी समस्या भइरहेको छ। यसमा सरकारले पनि सहजीकरण गर्नु आवश्यक छ’ श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।