काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्न सम्झौतामा रहेको ७०० मिलियन युरो रिलिज क्लजबिना असम्भव हुने बार्सिलोना ब्यवस्थापन र ला लिगाको दाबी गलत भएको उनका एजेन्टसमेत रहेका बुबा जर्ज मेस्सीले बताएका छन्।
मेस्सीले सिजन सकिएपछि क्लब छाड्न सक्ने बुँदा उल्लेख हुँदाहुँदै ७०० मिलियन युरोको रिलिज क्लज लागू नहुने भन्दै उनले विज्ञप्ती निकालेका हुन्। केही दिन अघि ला लिगाले निकालेको विज्ञप्तीमा मेस्सी लैजान ७०० मिलियन युरो तिर्नुपर्ने भन्ने विषय कुन बुँदाका आधारमा ब्याख्या गरिएको हो आफूहरुलाई थाहा नभएको पनि उनले उल्लेख गरेका छन्।
मेस्सीले क्लब छाड्ने इच्छा देखाइरहँदा बार्सिलोना ब्यवस्थापन उनलाई सहज बिदाइ गर्ने पक्षमा देखिँदैन। यसअघि बिहीबार जर्ज मेस्सीले बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउसँग भेटेर कुराकानी गर्दा पनि विषय अगाडि बढ्न सकेको थिएन। जसले मेस्सी, उनका बुबा र कानूनी सल्लाहकारले शुक्रबार बैठक गरेर विज्ञप्ती निकालेका हुन्।
बिहीबार बर्टामेउसँग भएको झण्डै दुई घन्टाको भेटमा जर्जले मेस्सीको सहज बिदाइका लागि आग्रह गरेका थिए। तर अध्यक्ष बर्टामेउले मेस्सी बिक्रीमा नरहेको नै दोहोर्याए। प्रशिक्षक कोम्यानको नयाँ सिजनको योजनामा मेस्सी केन्द्रमा रहेकाले उनलाई ७०० मिलियन युरो रिलिज क्लजबिना नबेच्ने बर्टामेउले बताएका थिए।
मेस्सीले क्लब छाड्ने इच्छा देखाएदेखि नै अहिलेसम्म विषय अघि बढ्न सकेको छैन। अब बर्टामेउ र जर्जबीच दोस्रो चरणमा छलफल हुने र त्यसबाट निकास निस्कने आश गरिएको छ।
यसअघि आइतबार मेस्सी र क्लबबीच रहेको सम्झौता आउँदो सिजनमा मात्र सकिने र उनको ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेकाले अहिले त्यति रकमबिना क्लब छाडेर जान नपाउने भन्दै ला लिगाले विज्ञप्ती निकालेको थियो।
शुक्रबार मेस्सीले ला लिगालाई दिएको जवाफको केहीबेरमा नै ला लिगाले जवाफ फर्काउँदै ७०० मिलियन युरोको रिलिज क्लज अझै लागु हुने उल्लेख गरेको छ। मेस्सीका बुवाले जारी गरेको विज्ञप्तीमा उल्लेख भएका कुरा अहिलेको सन्दर्भमा नमिल्ने भन्दै ला लिगाले पुरानै अडान दोहोर्याएको हो।
मेस्सीले पछिल्लो पटक सन् २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जानसक्ने बुँदा उल्लेख भएको थियो। तर बार्सिलोनामा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सीलाई सहज रुपमा बाहिरिने अवसर नदिन क्लबले प्रयास गरिरहेको छ।
क्लबले मेस्सीले त्यसरी सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा जुनको मध्यदेखि अन्त्य भइसकेको बताइरहेको छ। जसका कारण विषय अगाडि बढ्न सकेको छैन। तर कोरोना माहामारीका कारण रोकिएर ढिलो सकिएको लिग सिजनका कारण त्यो समय अझ रहेको मेस्सीका कानूनी सल्लाहकारको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।