काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ६ खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि लिग वानको नयाँ सिजनमा पनि संकट देखिएको छ। नयाँ सिजन सुरु भइसक्दा खेलाडीहरुमा संक्रमण देखिनुले खेल रोकाउनुपर्ने छलफल भइरहेका छन्।
यसअघि पिएसजीका स्ट्राइकर नेमार, मिडफिल्डर डि मारिया र लिएनार्दो पाराडेसलाई कोरोना भाइरसको संक्रमण भएको थियो। त्यसमा शुक्रबार संक्रमण हुने अरु तीन खेलाडी थपिएका हुन्। पछिल्लो पटक संक्रमण हुने खेलाडीको परिचय खुलाइएको छैन।
नेमार लगायतका खेलाडी फुटबल सिजन सकिएपछि सँगै बिदा मनाउन स्पेनिस आइसल्याण्डमा गएका थिए। उनीहरुसँगै गएका एन्डर हेरेरा, माउरो इकार्डी र केलर नाभासको स्वास्थ्य अवस्थाबारे भने जानकारी आएको छैन।
च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिकसँग पराजित भएको केही दिनमा नै उनीहरु बिदा मनाउन गएका थिए। अहिले सेप्टेम्बर १० मा नयाँ सिजनको पहिलो खेल खेल्नुपर्ने पिएसजी समस्यामा पर्ने देखिएको छ।
अहिले संक्रमण देखिएका खेलाडीहरु सेल्फ आइसोलेसनमा बसिरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। क्लबले तीन जना खेलाडीमा संक्रमण देखिएको पुष्टी गर्दै केही दिनभित्र बाँकी सबैको परीक्षण गर्ने जनाएको छ।
मार्सेली र सेन्ट इटिनीको खेल पनि केही खेलाडीमा कोरोना देखिएपछि सारिएको थियो। अहिले अरु क्लबमा पनि संक्रमण देखिन थाल्दा चिन्ता थपिएको हो। एउटा क्लबमा तीन खेलाडीभन्दा बढीमा संक्रमण देखिएमा खेल सार्नेतर्फ जाने लिग वानले संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।