काठमाडौं– नेसन्स लिग फुटबल प्रतियोगितामा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अन्तिम समयमा सम्हालिन नसक्दा जर्मनीले स्पेनसँग बराबरी खेल्न पुगेको हो।
घरेलु टोली जर्मनीले स्पेनसँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थियो। तर खेलको ५१औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई १–० गोलको अग्रता दिलाए।
खेलको इन्जुरी समयमा स्पेनले गोल फर्काउन सफल भयो। जोसे लुइसले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरी दिलाए। जर्मनीले अब दोस्रो लेग स्पेनसँग नोभेम्बर १८ तारिखमा खेल्नेछ।
जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा लिग ‘ए’ कै समूह चार मै रहेको युक्रेनले भने स्वीट्जरल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
त्यस्तै, अन्य खेलमा फारोय आइसल्यान्डले माल्टालाई ३–२ ले, रसियाले सर्वियालाई ३–१ ले, हंगेरीले टर्कीलाई १–० ले र वेल्सले फिनल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेका छन्। यता, आयरल्यान्ड र बुल्गेरियाले १–१ गोलको बराबरी खेल्दा मोल्डोभा र कोसोभोले पनि १–१ गोलकै बराबरी खेलेका छन्। लात्भिया र एन्डोराले तथा स्लोभेनिया र ग्रिसले भने गोलरहित बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।