काठमाडौं- अर्थमन्त्रीको पदावधि सकिने र उनी दोहोरिने या नदोहोरिने अन्योल कायमै रहेका बेला सेयर बजारमा भने उनी बहिर्गमनमा पर्ने हल्लाले प्रभाव पार्दै आएको छ। बुधबार उच्च अंकले बढेको सेयर बजार बिहीबार भने झिनो अंकले गिरावट आएको छ।
कारोबार सुरु हुने बित्तिकै केही सुधारको संकेत देखिए पनि अधिकांश समय बजार रातो देखिँदा कारोबार रकम पनि घटेको छ। बुधबार दोस्रो बजारमा ४ अर्बभन्दा बढी कारोबार भएको थियो।
साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ०.१५ अंकले तल झरेको छ। नेप्से सूचक झिनो अंकले घटेर १५१०.४२ अंकमा रोकिएको छ। कारोबार रकम दुई अर्ब ६३ करोड रुपैयाँ छ। बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रोपावर र उत्पादन तथा प्रसोधनको सूचक घटेका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको हल्ला फैलाएर बजार बढाउने सक्रिय समूहले नै सेयर बिक्री गरेर नाफा बुक गर्न खोज्दा बजार घटेको विश्लेषकहरू बताउँछन्।
राष्ट्रियसभाको सदस्य नभएको ६ महिना पूरा हुन लागेसँगै उनको बहिर्गमनको हल्ला चलेको हो। यही अन्योलताकै अवस्थामा बिहीबार दोस्रो बजारमा केही करेक्सन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।