काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय (युईएफए)को आयोजनामा हुने नेसन्स लिग फुटबल प्रतियोगितामा बिहीबार राति १० खेल हुँदैछन्। जसमा लात्भिया र एन्डोराबीचको खेल नेपाली समयअनुसार पौने १० बजे सुरु हुनेछ भने स्पेन र जर्मनीसहितका बाँकी खेल राति साढे १२ बजे हुनेछ।
राति हुने खेलहरुमा स्पेन र जर्मनीसँगै फारोय आइसल्याण्ड र माल्टा, बुल्गेरिया र आयरल्याण्ड, रसिया र सर्विया, स्लोभानिया र ग्रिस, टर्की र हंगेरी, फिनल्याण्ड र वेल्स, मोल्दोभा र कोसोभो, युक्रेन र स्वीट्जरल्याण्ड खेल्नेछन्।
नेसन्स लिगको लिग ए को चौथो समूहमा रहेको स्पेन र जर्मनीको खेललाई विशेष चासोका साथ हेरिएको छ। यो समूहमा नै युक्रेन र स्वीटजरल्याण्ड पनि रहेका छन्। जुन समूहमा लिग चरणका ६ खेलपछि विजेता टिम नेसन्स लिग फाइनल चरणमा पुग्नेछ।
के हो नेसन्स लिग?
युईएफएमा आबद्ध देशहरुबीच नेसन्स लिग प्रतिस्पर्धा गएको वर्षबाट सुरु भएको हो। यसलाई पहिले महत्व कम हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको राम्रो विकल्प मानिएको छ।
सन् २०११ बाटै यस्तो प्रतियोगिता गराउने परिकल्पना भएको भए पनि गएको वर्षबाट मात्रै नेसन्स लिग सुरु भएको हो। युईएफएले नेसन्स लिगका लागि युइएफएमा आबद्ध युरोपका ५५ देशलाई चार समूहमा विभाजन गरेको छ। जसलाई लिग नाम दिइएको छ। समूह विभाजनको आधार युईएफए वरियतालाई बनाइएको छ।
गएको वर्ष लिग ए मा १२ देश, लिग बी मा १२ देश, लिग सी मा १५ देश र लिग डी मा १६ देश रहेका थिए भने यसवर्ष त्यसलाई फेरेर लिग ए, बी र सी मा १६–१६ देशहरु र लिग डी मा ७ देशहरु रहेका छन्।
लिग ए, बी र सी मा चार–चार समूह बनाइएको छ भने लिग डी मा दुई समूह बनाइएको छ। समूह पिच्छे छुट्टाछुट्टै लिग खेलहरु हुनेछन्। हरेक टिमले समूहमा ६ खेलहरु खेल्नेछन्। लिग डी को तीन देश रहेको एक समूहले भने चार खेल मात्र खेल्नेछन्। खेलहरु होम एण्ड अवेका आधारमा हुनेछन्।
लिग ए मा रहेका चार समूहका विजेता चार राष्ट्र नेसन्स लिग फाइनल चरणमा पुग्ने छन्। फाइनल चरणको खेलबाट विजेताले नेसन्स लिग च्याम्पियनको उपाधि पाउने छ। गएको वर्ष नेदरल्याण्ड्सलाई हराएर पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको थियो।
नेसन्स लिगमा टिमहरुको घटुवा र बढुवाको व्यवस्था पनि छ। लिग बी का समूह विजेताहरु लिग ए मा जानेछन् भने सी बाट चार विजेता टिम लिग बी मा पुग्नेछन्। यसरी नै ए र बी लिगबाट चार–चार टिम र सी बाट दुई टिम रेलिगेसनमा पर्ने छन्। लिग डी मा भने रेलिगेसन हुने छैन।
नेसन्स लिग नै युरो कप र विश्वकप छनोटको बाटो समेत हुने भएकाले यसको महत्व विश्व फुटबलमा बढेर गएको छ। युरो कप छनोटमा १० समूहका विजेता र उपविजेता युरो कपमा पुग्ने भए पनि तेस्रो स्थानमा रहने टिमले प्ले अफ खेल्न पाउने प्रावधानमा भने परिवर्तन भएको छ।
२४ राष्ट्र सहभागी हुने युरो कपमा १० समूहका विजेता र उपविजेताबाहेक बाँकी रहेको ४ राष्ट्रको प्रतिस्पर्धा भने नेसन्स लिगका आधारमा हुने छ। जसमा युरो कपमा सिधा छनोट नभएका युईएफए नेसन्स लिगको सबै लिगको शीर्षमा रहने टिमले त्यसमा अवसर पाउने छन्। जसका आधारमा २०२१ मा हुने युरो कपका लागि ४ टिमको टुंगो लाग्न बाँकी नै छ।
यसैगरी पहिलो चरणका खेल सकिएपछि १० समूहका विजेता टिम सिधा विश्वकपमा पुग्नेछन्। विश्वकपका लागि दोस्रो चरण प्ले अफमा १० समूहका उपविजेतासहित नेसन्स लिग समूहमा उत्कृष्ट दुई समूह विजेता देशले सहभागी हुन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।