काठमाडौं-शेयर बजारमा लगातार सुधार आउदा म्युचुअल फण्डले नाफा कमाउन थालेका छन्। साउनकाे एक महिनामै १७ वटा म्युचुअल फण्डले २१ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। चार वर्षदेखि घट्दो क्रममा रहेको दोस्रो बजारमा ठूलो नोक्सान बेहोरेका म्युचुअल फण्डहरु लाभांस वितरण गर्न सक्ने भएका छन्।
गत असारमा म्युचुअल फण्डले एक अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। १७ म्युचुअल फण्डमध्ये दुई वटा फण्ड अझै नाफामा आउन सकेका छैनन्। ग्लोबल आइएमई सम्मुन्नत स्किम ७ करोड ७२ लाख रुपैयाँ नोक्सानमा रहेको छ भने अर्को लक्ष्मी इक्वीटी फण्ड ७ करोड ५५ लाख रुपैयाँ नोक्सानमा रहेको छ।
गत साउनमा फण्डहरुले १० अर्ब ८४ करोड रुपैयाँ शेयरमा लगानी गरेका छन्। असार महिनामा फण्डहरुले १० अर्ब २ करोड रुपैयाँ लगानी गरेका थिए। बैशाखमा ८ अर्ब ८३ करोड रुपैयाँ शेयरमा लगानी गरेका फण्डले बजार सुधार हुन थालेसँगै लगानी पनि बढाइरहेका छन्। भैरहेको शेयरको मूल्य बढ्दा पनि फण्डहरुको लगानी धेरै देखिन्छ। अर्कोतर्फ फण्डहरु यस अवधिमा दोस्रो बजारबाट राम्रो शेयर उठाइरहेका छन्।
फण्डहरुले ऋणपत्र तथा सरकारी बण्डमा पनि लगानी थपेका छन्। साउन महिनामा ऋणपत्रमा मात्रै एक अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन्। असार महिनामा यस्तो लगानी एक अर्ब ९ करोड रुपैयाँ थियो।
साउन महिनामा ऋणपत्र तथा मुद्दती निक्षेपबाट प्राप्त हुने आम्दानी पनि बढेको छ। साउनमा यस्तो आम्दानी एक अर्ब ७० करोड रुपैयाँ रहेको छ।
दोस्रो बजारमा लगातार सुधार हुँदा फण्डहरुले शेयर उठाइरहेको प्रमाण उनीहरुको बैंक व्यालेन्स पनि घटिरहेको छ। असार महिनामा फण्डहरुको बैंक निक्षेप ५ अर्ब १८ करोड रुपैयाँ थियो। साउन महिनामा बैंकमा जम्मा भएको पैसा घटेर ४ अर्ब १५ करोड रुपैयाँ झरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।