एजेन्सी–भारतमा कोरोना संक्रमण झन् तीव्र भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ८३ हजारभन्दा बढी संक्रमित थपिएका छन्। एकै दिन यति धेरै संक्रमित थपिएको यो अहिलेसम्मकै रेकर्ड हो।
भारतीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ८३ हजार ३ सय ३३ संक्रमित थपिएका हुन्। योसँगै भारतमा कूल संक्रमितको संख्या ३८ लाख नाघेको छ। त्यसमध्ये सक्रिय संक्रमितको संख्या ८ लाख १५ हजार ३ सय ३८ पुगेको छ भने २९ लाख ७० हजार ४ सय ९२ जना निको भएका छन्।
यस्तै, २४ घण्टामा भारतमा १ हजार ४३ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा ६७ हजार ३ सय ७६ जनाको मृत्यु भइसकेको छ। महाराष्ट्रमा २ लाख २ हजार सक्रिय संक्रमित छन्, जुन भारतभरमा सबैभन्दा बढी सक्रिय संक्रमित भएको राज्य हो।
यस्तै, भारतमा कोरोनाबाट हुने मृत्यु दर प्रति दश लाखमा ४८ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।