काठमाडौं- कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा एनसेल एक्जिएटाको नाफामा भारि गिरावट आएको छ। एनसेलको माउ कम्पनी एक्जिएटाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२० को दोस्रो त्रैमाशिक अवधिमा कम्पनीको नाफा ७४.६० प्रतिशतले घटेको हो।
एनसेलले दोस्रो त्रैमाशिक अवधिमा दुई अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। सन् २०१९ को दोस्रो त्रैमाशिक अवधिमा ९ अर्ब ३६ करोड रुपैयाँ थियो।
सन् २०२० को दोस्रो त्रैमाशिक अवधिमा भने जम्मा ७६ करोड रुपैयाँ नाफा गरेको छ। सन् २०१९ को दोस्रो त्रैमाशिक अवधिमा मात्रै भने चार अर्ब ४६ करोड रुपैयाँ थियो। कोभिडका कारण कम्पनीको आम्दानीमा पनि ठुलो असर गरेको छ।
दोस्रो त्रैमाशिक अवधिमा एनसेलको आम्दानीमा २२ प्रतिशतले गिरावट आएको हो। सन् २०२० को ६ महिनाको अवधिमा २१ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ। सन् २०१९ को ६ महिनाको अवधिमा २७ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको थियो।
कम्पनीको पोष्टपेडका प्रयोगकर्ता केही मात्रामा बढे पनि प्रिपेडका प्रयोगकर्तमा भने गिरावट आएको छ। हाल पोष्टपेडका ग्राहक चार लाख ७८ हजार रहेका छन् भने प्रिपेडका ग्राहक एक करोड ५४ लाख रहेका छन्। उक्त ग्राहक मध्ये ४६ प्रतिशतले डाटा प्रयोग गर्छन्। फोरजीमा आक्रामक एनसेलका फोर जी प्रयोगकर्ता बढिरहेका छन्।
हाल थ्रिजी प्रयोग गर्ने ग्राहक ३२ लाख १९ हजार रहेका छन् भने फोर जी प्रयोगकर्ता ३३ लाख १४ हजार रहेका छन्। सन् २०१९ को यसै अवधिमा थ्रिजी प्रयोगकर्ता २९ लाख ९४ हजार थिए भने फोर जी प्रयोगकर्ता १७ लाख ५९ हजार जनामात्रै थिए।
माउ कम्पनी एक्जिएटाका अनुसार सबैभन्दा कमजोर प्रस्तुती एनसेलको रहेको छ। कोभिडका कारण नेपालको एनसेल र श्रीलङ्काको सेलकमको व्यवसायमा चुनौती थपिएको एक्जिएटाले उल्लेख गरेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।