काठमाडौं- सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान गरेको गन्तव्यबाट उडान गर्ने विदेशी एयरलाइन्सले सोही भाडामा उडान गर्नुपर्ने भएको छ।
अन्तर्राष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरहरुमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन विदेशी एयरलाइन्सहरुलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।
मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीहरुले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सहरुले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघसँग (एनआएन)आग्रह गर्नुपर्ने धारणा राखेका थिए।
मन्त्रालयमा भएको छलफलमा हवाई भाडादरमा कालोबजारी,अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित बायुसेवा कम्पनीहरुलाई सचेत गराउने, नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादरभन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।