काठमाडौं-सरकारले निषेधाज्ञा अवधिभर ई-कमर्स व्यवसाय संचालन तथा त्यसअन्तर्गत होम-डेलिभरीको व्यवस्थामा रोक लगाएको विषयप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘बन्दाबन्दी तथा हालको निषेधाज्ञामा समेत यस्ता व्यवसायहरुले आममानिसहरुकाे दैनिक आवश्यकताका सामानलगायत खाद्यान्न सामग्री घर-घरमा पुर्याइ आम उपभोक्तालाई आफ्नो घरमै बस्न हौसला दिईरहेका छन्,’ मञ्चले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को चुनौतीसँगै आर्थिक गतिविधि ठप्प रहेको यस्तो परिस्थितिमा बजारको वितरण प्रणालीलाई केही भए पनि निरन्तरता दिईरहेका यस्ता व्यवसायलाई आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गरि तत्काल संचालन गर्न दिईनु पर्ने हाम्रो माग छ।’
अनलाईन प्रविधिमार्फत काम गरि घरमा सामान पुर्याउने यस्ता व्यवसायहरुले आफ्नो वितरण प्रणालीलाई सुरक्षित राखेकोसमेत उनीहरुकाे दाबी छ।
‘सामान वितरण गर्ने क्रममा समेत सबै सावधानी अपनाईएका छन्। कर्मचारीहरूलाई पिपीई सुटको व्यवस्था गरिएको छ। डेलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्येक पटक स्यानीटाईज गरिन्छ। कारोबार सकेसम्म नगदरहित नै गर्ने प्रयास गरिरहेका छौं,’ नेपालको प्रमुख स्थानीय ई-कमर्स कम्पनी सस्तो डिलका संस्थापक अमुन थापाले भने।
सस्तो डिलले वितरण गरिरहेको करिब ५० प्रतिशत सामान सरकारी सहुलियतको रहेको पनि उनले बताए। सस्तो डिलले नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सामान नि:शुल्क वितरण गर्दै आएको छ।
त्यस्तै नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष च्याग अग्रवालले यो कठिन समयमा सरकार तथा निजी क्षेत्रले सहकार्य गरि अगाडि बढनु पर्ने बताए। ‘महामारीको समयमा सरकारको प्राथमिकता निसन्देह नागरिकको स्वास्थ्यमा रहन्छ। त्यसैले नागरिकलाई सुरक्षित राख्न ई-कमर्स कम्पनीहरूले खेल्न सक्ने भूमिकालाई सरकारले सहयोग गर्नु आवश्यक छ,’उनले भने।
‘विश्वव्यापी रूपमै यस्ता ई-कमर्स कम्पनीहरूले कोभिड-१९ ले श्रृजित कठिन समयमा समेत ग्राहकहरूलाई घरको ढोकामै आवश्यक सामानहरु उपलब्ध गराई सकारात्मक प्रभाव पारेका प्रसस्त उदाहरणहरु छन् । यसले गर्दा ग्राहकहरु आ-आफ्नो घरमै सुरक्षित रहिरहन सम्भव हुन्छ’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।