काठमाडौं-स्पेनका स्टार फुटबलर डेभिड सिल्भालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
खेलाडी सिल्भालाई कोरोना भाइरस परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको रियल सोसाइडेड क्लबले जनाएको छ। उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्। ३४ वर्षीय सिल्भा केही दिनअघि मात्रै स्पेनिस क्लब रियल सोसाइडेडमा अनुबन्धित भएका थिए।
१० वर्ष इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट व्यवसायिक फुटबल खेलेका उनको सम्झौता गएको सिजनको अन्त्यमा सकिएको थियो। सिटीसँगको सम्झौता सकिएसँगै उनी आफ्नै घरेलु टिम रियल सोसाइडेडमा दुई वर्षका लागि अनुबन्धित भएका थिए।
१० वर्षे अवधिमा सिटीबाट सिल्भाले ४३६ खेल खेले। यो अवधिमा सिटीले १४ उपाधि जित्दा सिल्भाको भूमिका महत्वपूर्ण रह्यो। स्पेनले सन् २०१० को विश्वकप फुटबलको उपाधि जित्दा सिल्भा टिमका मुख्य सदस्य थिए। त्यस्तै, सन् २००८ र २०१२ को युरो कपको उपाधि स्पेनले जित्दा पनि उनको भूमिका महत्वपूर्ण थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।