काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल समापन हुने हल्लाले सेयर बजार तताएको छ। सोमबार कारोबार सुरु हुने बित्तिकै सुधार हुन थालेको बजारमा ३० अंकसम्मले बढेको थियो। पछि केही अंकले करेक्सन हुने क्रममा २२ अंकको सुधार भएर सेयर बजार बन्द भएको छ।
सोमबार नेप्से सूचक १.५३ प्रतिशतले सुधार भएर १४८४.९९ अंकमा रोकिएको छ। सूचकका साथै कारोबार रकम पनि बढेको छ। सोमबार तीन अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ।
होटलबाहेक सम्पूर्ण सूचक तथा उपसूचक सुधार भएका छन्। सबैभन्दा धेरै अन्य सूचक ४.१२ प्रतिशतले बढेको छ। अपर तामाकोशीको सेयरमा आएको सुधारले होटलको सूचक नै ३.४३ प्रतिशलते बढेको हो। बीमा र उत्पादन तथा प्रसोधनको सूचक तीन प्रतिशतभन्दा माथिले बढेका छन्।
अर्थमन्त्रीको कार्यकाल समापन हुन लागेको र उनी दोहोरिने वा अर्कै मन्त्री आउने निश्चितता नभएका बेला सेयर बजारमा उनी हट्ने हल्ला चलाइएको छ। राष्ट्रिय सभामा कार्यकाल सकिएर पनि मन्त्री बन्न सक्ने कानुनी सिमा सकिएका कारण उनि हट्ने विश्लेषण हुन थालेको छ। यद्यपि प्रधानमन्त्री केपी शर्मा वलीले भने उनलाई नै दोहोर्याउने संकेत गरिसकेका छन्।
पछिल्लो समय अनलाइनबाटै अधिकांश कारोबार हुने गरेको छ। अन्य क्षेत्रमा लगानीका ढोका बन्द हुँदा लगानीकर्ताको सम्पूर्ण ध्यान सेयर बजारमा केन्द्रित हुन थालेकाले पनि सेयर बजारमा पछिल्लो सयम उतारचढाव आउन थालेको हो। सेयर बजारमा सामान्य उतारचढाव आउनु प्राकृतिक मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।