काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर नगरपालिका ६ नारायणटारका दूई पानी उद्योगमा सिल गरेको छ। ती उद्योग कानुनविपरीत संचालन भइरहेको र पानीको गुणस्तर पनि कम रहेको भन्दै विभागले सिल गरेको हो।
विभागका अनुसन्धान अधिकृत तथा सहप्रवक्ता ध्रुव खनालका अनुसार गोर्खा बेभरेज प्रालि र डाँफे मिनरल वाटर प्रालि नामका कमपनीले संचालन गरिरहेका पानी उद्योग सिल गरिएको हो। विभागको टोलीले आइतबार त्यस क्षेत्रका ४ वटा पानी उद्योगमा अनुगमन गरेको थियो।
डाँफे मिनरल वाटरले बिक्री गर्ने अक्वा कुल ब्राण्डको पानीको जारमा लेउ भेटिएको भन्दै केही दिनअघि उपभोक्ताले विभागमा गुनासो गरेका थिए। अनुगमनका क्रममा उक्त कम्पनीले पुराना र निकै फोहोर जारमा पानी बेच्ने गरेको मात्र नभई व्यवसाय दर्ता र खाद्य अनुज्ञापत्र नवीकरणसमेत नगरेको भेटिएको अनुसन्धान अधिकृत खनालले बताए।
‘त्यो कम्पनी दर्ता नवीकरण र खाद्य अनुज्ञापत्रको नवीकरण नगरिकनै संचालन भइरहेको भेटियो। तर उसले आफू अहिले नवीकरण प्रकृयामा गएको भनेको छ। नवीकरण नगर्दा दोब्बर दस्तुर तिरेको रसिद पनि देखाएको थियो।’ खनालले भने।
त्यस्तै मास्टर अक्वा ब्राण्डको पानी बिक्री वितरण गर्दै आएको गोर्खा वेभरेजले इजाजतबिनै बोरिङबाट पानी तान्ने गरेकोसमेत अनुगमनका क्रममा भेटिएको छ। यी दुवै पानी उद्योगलाई व्यवसाय संचालनसँग सम्बन्धित सम्पूर्ण कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।