काठमाडौं- गुणस्तरहीन फलामका डण्डी उत्पादन गर्ने जगदम्बा स्टिल्स प्रालिलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ। जगदम्बाले उत्पादन गरेका टिएमटी १६ एमएम छडको ल्याब परीक्षण गर्दा गुणस्तरहीन देखिएपछि कम्पनीलाई छडको बिक्री वितरण बन्द गर्न र बजारमा पठाइसकेका छड पनि फिर्ता ल्याउन विभागले निर्देशन दिएको हो।
जगदम्बा स्टील्सले उत्पादन गरेका छड गुणस्तरहीन रहेको भन्दै गुणस्तर तथा नापतौल विभागमा गत साउन २९ गते विभागमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा विभागले जगदम्बाबाट उत्पादित छडको नमुना संकलन गरी परीक्षण गरेको थियो। विभागबाट संकलित १६ एमएमको ‘टिएमटी बार एफइ ५००’ को नमूना प्रयोगशालामा परीक्षण गराउँदा गुणस्तरहीन भेटिएको थियो।
विभागको प्रयोगशाला रिपोर्टअनुसार उक्त छडमा कार्बनको मान अधिकतम ०.३० प्रतिशत हुनुपर्नेमा ०.३५ प्रतिशत देखिएको छ। त्यस्तै सल्फरको मान अधिकतम ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत रहेको र छडहरु चिरा परेको (क्र्याक) भेटिएको पनि विभागले जनाएको छ।
ती छडको ल्याब परीक्षणको नतिजा नेपाल गुणस्तर १९१ बमोजिम नरहेको हुँदा गुणस्तरहीन उत्पादन उत्पादन तथा बिक्री वितरण बन्द गर्न र उक्त ब्याचको सम्पूर्ण ‘१६ एमएम टिएमटी बार एफइ ५००’ छड बजारबाट फिर्ता लिई विभागलाई जानकारी गराउन भनिएको छ।
विभागले जगदम्बा स्टिल्सलाई कारबाहीका लागि पनि पत्र पठाएको छ। ‘नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावली २०४० को नियम १६ अनुसारको कारबाही किन नगर्ने? कुनै कारण भए १५ दिनभित्र आफ्नो सफाइको सबुत प्रमाण तथा सुधारका लागि लिने करेक्टिभ एक्सनसहित विभागमा पेश गर्नुहुन जानकारी गराइन्छ।’ विभागले कम्पनीलाई स्पष्टीकरण माग गर्दै पठाएको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।