काठमाडौं–इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ।
शनिबार राति भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ को अन्तरले पराजित गर्दै आर्सनलले उपाधि आफ्नो पोल्टामा पारेको हो। निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टीबाट छिनोफानो गरिएको हो।
खेलको १२औं मिनेटमा पेरिक एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। उनकै गोलमा आर्सनलले पहिलो हाफसम्म लिभरपुलविरुद्ध १-० गोलको अग्रता बनाएको थियो। तर खेलको ७३औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा पुर्याए। बाँकी समयमा दुबैतर्फबाट गोल नभएपछि खेल पेनाल्टीबाट टुंगो लागेको हो।
पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र आबुमियाङले गोल गरे। यता, लिभरपुलका मोहमद सलाह, फाबिन्हो, मिनामिनो र कुर्टिस जोन्सले गोल गर्दा रियान ब्रेवस्टरले हानेको पेनाल्टी भने गोलमा परिणत हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।