काठमाडौं- नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं भएकी छन्। शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै चौलागाईं विजेता बनेकी हुन्।
चौलागाईंले नेपाल आइडल सिजन ३ विजेताको टाइटलसँगै ५० लाख रुपैयाँ पनि प्राप्त गरेकी छन्। सिजन ३ मा फस्ट रनरअप वेडुवाल बनेका छन् भने भुजेल सेकेन्ड रनरअप भए। उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
कोरोना संक्रमण जोखिमका कारण यो सिजनको फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै अत्यन्तै सीमित व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
चैत पहिलो साताबाट स्थगित भएको नेपाल आइडल केही साता अगाडि सुरु भएको थियो। यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए।
नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने रवि ओड दोस्रो सिजन विजेता बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।