प्रतीकात्मक तस्बिर
काठमाडौं– सरकारले हेलिकोप्टरको सेवा सञ्चालनका लागि इजाजत दिन कम्तीमा १० करोड रुपैयाँको चुक्ता पूँजी आवश्यक पर्ने नीति लिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेका हवाई नीति २०७७ को मस्यौदामा यस्तो विषय समावेश भएको हो।
हेलिकोप्टरका लागि इजाजत प्राप्त गर्न कम्तीमा १० करोड रुपैयाँ चुक्ता पुँजी भएको र एओसी प्राप्त गर्नुपर्ने अवस्थामा चुक्ता पुँजी २५ करोड र सञ्चालन पुँजीसहितको कम्तीमा ५० करोड रुपैयाँ हुनुपर्ने विषय हवाइ नीतिको मस्यौदामा प्रस्ताव गरिएको छ।
यसैगरी अन्तर्राष्ट्रिय वायुसेवाका लागि इजाजत प्राप्त गर्न ५० करोड पुँजी हुनुपर्ने, सञ्चालन प्रमाणपत्र प्राप्त गर्ने अवस्थामा १ अर्ब चुक्ता पुँजी र सञ्चालन पूँजी पनि एक अर्ब गरी २ अर्ब रुपैयाँ भएको हुने पर्ने नीतिको मस्यौदामा प्रस्ताव गरिएको छ।
साथै नीतिमा आन्तरिक वायुसेवाका लागि इजाजत प्राप्त गर्न कम्तीमा २५ करोडको चुक्ता पुँजी, एओसी प्राप्त गर्नुपर्ने अवस्थामा चुक्ता पूँजी ५० करोड पुगेको हुनुपर्ने र सञ्चालन पूँजी पनि ५० करोड नै कायम भएको हुनुपर्ने नीतिमा प्रस्ताव छ।
यसैगरी नीतिमा हवाई उडान प्रशिक्षण संस्था सञ्चालनका लागि इजाजत प्राप्त गर्न कम्तीमा ५ करोड रुपैयाँ चुक्ता पुँजी भएको र एओसी प्राप्त गर्नुपर्ने अवस्थामा सञ्चालनका दृष्टिकोण उपयुक्त हुनुका साथै चुक्ता पूँजीसहित कम्तिमा १५ करोड रुपैयाँको सञ्चालन पूँजी भएको हुने पर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।