काठमाडौं- ब्राजिलियन फुटबलर थिएगो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन्। शुक्रबार सिल्भाले चेल्सीसँग एक वर्षको लागि सम्झौता गरेका हुन्।
३५ वर्षीय सेन्टर ब्याक सिल्भालाई चेल्सीले फ्रि ट्रान्सफरबाट आफ्नो क्लबमा भित्र्याएको हो। गएको सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई लिग वान फुटबलको उपाधि दिलाएका कप्तान सिल्भाले क्लबलाई पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए। तर फाइनलमा जर्मन क्लब बायर्न म्युनिकसँग पिएसजी १–० गोलअन्तरले पराजित हुँदै उपाधि जित्नबाट वञ्चित भएको थियो।
सन् २०१२ मा इटालियन क्लब एसी मिलानबाट फ्रेन्च क्लब पिएसजी आएका सिल्भाले यो क्लबमा ८ वर्ष बिताए। यो अवधिमा उनले पिएसजीलाई सात पटक लिग वानको उपाधि दिलाएका छन्। उनले पिएसजीबाट २०० भन्दा बढि खेल खेलेका छन्।
सिल्भाले चेल्सीमा अनुबन्धित हुन पाउँदा आफू धेरै खुशी रहेको बताएका छन्। उनले भनेका छन्, ‘चेल्सी क्लबमा अनुबन्धित हुन पाउँदा खुशी छु। फ्रान्क लामपार्डको टिमको हिस्सा हुन पाउँदा म उत्साहित पनि छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।