काठमाडौं- प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आफ्ना खेलाडीहरु बर्नान्डो सिल्भा, रियाद महरेज र गाब्रियल जिसस आउने सिजन पनि क्लबमा नै रहने र कोही पनि खेलाडीसँग उनीहरु नसाटिने जनाएको छ।
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेको खबर आएसँगै सिटीले केही रकमसहित आफ्ना महत्वपूर्ण खेलाडी दिएर मेस्सीलाई ल्याउने हल्ला चलिरहेका थिए। मेस्सी ल्याउने या नल्याउने विषयमा केही जानकारी नदिएको सिटीले आफ्ना महत्वपूर्ण खेलाडीहरु कतै नजाने बताएको बिबिसीमा खबर छ।
म्यानचेस्टर सिटीले इरिक ग्रासिया र एन्जेलिनोलाई पठाउन सकिने बारेमा भने केही बताएको छैन। ग्रासियाले त बार्सिलोना फर्कने इच्छासमेत देखाइरहेका छन्।
मेस्सीलाई तीन वर्षको सम्झौतामा लैजान सिटीले प्रयास गरिरहेको भन्ने खबर अहिले व्यापक छ। मेस्सीसँगको सम्झौतामा सिटीका मुख्य कार्यकारी अधिकृत फेरान सोरियानोले काम गरिरहेको बताइन्छ। मेस्सीसँग तीन वर्षका लागि सम्झौता गर्ने तयारी गरेको सिटीले त्यसपछि उनलाई सिटीकै क्लब न्यू योर्क सिटीमा जान सक्ने छुट पनि सम्झौतामा उल्लेख हुनेछ। यसका साथै ‘सिटी फुटबल ग्रुप’ को एम्बेस्डर हुने अवसरसमेत दिइने खबरहरु आएका छन्।
मंगलबार बार्सिलोना ब्यवस्थापनसँग आफूले क्लब छाड्न चाहेको विषय मेस्सीले राखेपछि युरोपका ठूला क्लबहरु उनलाई भित्र्याउन लागिपरेका थिए। जसमा सबैभन्दा अघि म्यानचेस्टर सिटी देखिएको हो। सिटीका प्रशिक्षक पेप गार्डिओलाले मेस्सीसँग सिटीमा आएपछिका अवस्था र योजनाबारे कुराकानी गरिसकेको बताइएको छ।
मेस्सीले पछिल्लो पटक २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जानसक्ने बुँदा उल्लेख भएको थियो। बार्सिलोनामा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सीलाई सहज रुपमा बाहिरिने अवसर नदिन क्लबले प्रयास गरिरहेको छ।
मेस्सीको ७०० मिलियन पाउण्डको महँगो रिलिज क्लज देखाएर ब्यवस्थापनले तर्साइरहेको छ भने मेस्सीले आफ्नो सम्झौतामा उल्लेख भएको– ‘हरेक सिजनको अन्त्यमा आफूले चाहेमा क्लब छाड्न सक्ने’ भन्ने बुँदालाई अघि सारिरहेका छन्।
क्लबले मेस्सीले त्यसरी सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा जुनको मध्यदेखि अन्त्य भइसकेको बताइरहेको छ। तर कोरोना माहामारीका कारण रोकिएर ढिलो सकिएको लिग सिजनका कारण त्यो समय अझ रहेको मेस्सीका कानूनी सल्लाहकारको तर्क छ। जसले यदि मेस्सीले क्लब छाडेर गएमा बार्सिलोना ब्यवस्थापन अदालती प्रक्रियामा जाने देखिन्छ। जहाँ विश्व फुटबलको सबैभन्दा ठूलो ट्रान्सफर विवादमा अझ लम्बिने छ।
मेस्सीले सित्तैमा छाडेर जाँदा लाग्न सक्ने घाँटालाई मध्यनजर गर्दै उनको बिक्रीमा नै लाग्न पनि बार्सिलोना ब्यवस्थापनमा छलफल भएको छ। नेमारलाई पिएसजीमा पठाउँदाको भन्दा बढी रकम हुनुपर्ने तर्क उठिरहेको छ। नेमार २०१७ मा २ सय २२ मिलियन युरोमा पिएसजी गएका थिए।
अहिले बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले यदि मेस्सीले बार्सिलोनामा नै रहने पक्का गरेमा आफू राजीनामा दिनसमेत तयार रहेको बताएका छन्। तर उनको यो अभिव्यक्तिको आधिकारिक पुष्टि भएको छैन। मेस्सीले कुनै पनि हालतमा क्लब छाड्ने देखिएपछि उनले आफ्नो छबि सुधार गर्न त्यस्तो बताएको बताइन्छ।
सबै विषयमा भइरहेका हल्लाहरुलाई विचार गर्दै मेस्सीले केही दिनमा सार्वजनिक अभिव्यक्ति दिने आश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।