काठमाडौं- नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई सरकारी खर्चमा मितव्ययितासम्बन्धी निर्देशिकाविपरीत आफ्ना कर्मचारीलाई भत्ता दिएको पाइएको छ। राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई निर्देशिका विपरीत १५ किसिमसम्मका भत्ता दिएको पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
महालेखाको ५७ औं वार्षिक प्रतिवेदनअनुसार राष्ट्र बैंकका सबै कर्मचारीलाई कर्मचारी सञ्चय कोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषबाहेक ८ किसिमका र विशेष समूहका कर्मचारीलाई १५ किसिमका भत्ता उपलब्ध गराइएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा ५९ करोड ५० लाख रूपैयाँ अन्य भत्तामा खर्च लेखेको महालेखाको प्रतिवेदनमा जनाइएको छ। सरकारले जारी गरेको मितव्ययिता सम्बन्धी निर्देशिका पालना हुनुपर्ने महालेखाले जनाएको छ।
सरकारले ल्याएको उक्त निर्देशिकामा स्थानीय भत्ता, पोशाक भत्ता र महँगी भत्ताबाहेक अन्य भत्ता खारेज गर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।