काठमाडौं- विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक बन्नका लागि ५ जना लिखित परीक्षामा सहभागी भएका छन्। बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशकका लागि उम्मेदवारहरुका लागि लिएको लिखित परीक्षामा ५ जना सहभागी भएका हुन्।
मन्त्रालयले कार्यकारी निर्देशक पदको आवेदनका लागि गत वर्ष असोज ३० गते पहिलोपटक र मंसिर ४ गते दोस्रोपटक सूचना जारी गरेको थियो। सेजका पूर्व कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टसहित रघुराज काफ्ले, योगेन्द्र गौचन, जनार्दन गुरागाईं, कुमार दाहाल र प्रदीपकुमार मैनालीले आवेदन दिएका थिए।
तर भट्ट भने लिखित परीक्षामा सहभागी नभएको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन्। लिखित परिक्षासकिएपनि उत्तरपुस्तिका जाँच, अन्तर्वार्तालगायत प्रक्रिया बाँकी रहेको र ती प्रक्रिया नटुंगिउन्जेलसम्मका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्यालले विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशकको जिम्मेवारी पाएको समेत उनले बताइन्।
मन्त्रिपरिषदको गत मंगलबार बसेको बैठकको निर्णय सुनाउँदै अर्थ एवं सूचना तथा संचार मन्त्री डा युवराज खतिवडाले कार्यकारी निर्देशकको जिम्मेवारी रिज्याललाई दिइएको जानकारी दिएका थिए।
विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार प्राधिकरणको कार्यकारी निर्देशक सिफारिस समितिले सिफारिस गरेका व्यक्तिलाई सरकारले नियुक्त गर्ने व्यवस्था छ। उद्योग मन्त्रालयका सचिव अध्यक्ष रहने प्राधिकरणको १७ सदस्यीय संचालक समितिमा कार्यकारी निर्देशक सदस्यसचिव रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।