रुपन्देही- प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।
बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न तथा प्रदेशस्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी मस्यौदा गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग र प्रदेश पूर्वाधार विकास प्राधिकरणको सङ्गठन संरचना तथा अस्थायी दरबन्दीका लागि स्वीकृति प्रदान गरेको छ।
बैठकले कानूून मस्यौदा कार्यदलको म्याद गत साउन १ गतेदेखि आगामी पुस मसान्तसम्म छ महिना थप गर्ने पनि निर्णय गरेको छ। कार्यदलका संयोजकमा मुख्य न्यायाधिवक्ता, आन्तरिक मामिला मन्त्रालयको कानूून महाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल छन्। बैठकले प्रदेश विपद् व्यवस्थापन कार्यसञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत गरेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।