काठमाडौं- गएको एक साता लगातार सुधारिएको सेयर बजारमा बिहीबार ४ अंकको करेक्सन देखिएको छ। एक सातामा ७० अंकले सुधारिएको बजारमा लगानीर्ताले नाफा बुक गर्न खोज्दा बिहीबार ४ अंकले नेप्से सूचक घटेर १४५८.०४ अंकमा झरेको छ।
तीन वटा समूहका सूचकबाहेक बाँकी समूहका सूचक घटेका छन्। जीवन बिमा तथा निर्जीवन बिमा र उत्पादन तथा प्रसोधनको सूचकमा बढेपनि बाँकी समूहको सूचकमा करेक्सन देखिएको छ। सबैभन्दा धेरै व्यापारको सूचक १.६४ प्रतिशतले गिरावट आएको छ। सूचकमा गिरावट आउदा कारोबार रकम पनि एक अर्ब ९८ करोड रुपैयाँमा सीमित भएको छ। गएका दिनमा दुई अर्बभन्दा माथिको कारोबार भएको थियो।
बुधबारदेखि कारोबार सुरु भएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। बिहीबार १८८ वटा कम्पनीको कारोबार हुँदा ११३ वटाको मूल्य घटेको छ भने ४३ वटाको मूल्य बढेको छ।
स्थानीय निकायले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दा पनि सेयर बजारमा बढिरहेको थियो। अन्य क्षेत्रमा काम गर्न नपाएका लगानीकर्ताको ध्यान सेयर बजारमा केन्द्रित हुँदा बजार बढिरहेको छ। केही दिनदेखि अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको हल्ला चलाएर पनि बजार बढाउने प्रयास भैरहेको छ।
समग्र अर्थतन्त्र धराशायी हुँदा पनि शेयर बजारमा भने सुधार आइरहेको देखिन्छ। बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। नयाँ कर्जाको माग नआउदा बैंकहरुले लगानीकर्तालाई बोलाएर शेयर कर्जाको अफर गरिरहेको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए। लगानीका अन्य ढोका बन्दा हुँदा सम्पूर्ण लगानीकर्ताको ध्यान शेयर बजारमा केन्द्रित भएको उनले बताए।
नेपालको सेयर बजार धेरै नै तल्लो बिन्दुमा रहेकोले गर्दा कुनै पनि बजार बढ्न सक्ने उनको आँकलन छ। बढ्ने अवस्थामा रहेको बजारलाई लगानीकर्ताको सक्रियताले बढाउने उनको तर्क छ। उनी भन्छन्, 'यही भएका लगानीकर्ताले अनलाइनबाटै कारोबार गरिरहेका छन्। विदेशमा रहेका नेपालीले पनि लगानी गरिरहेका छन्। यसले बजार बढाउन टेवा दिइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।