काठमाडौं- एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटप्रति राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाउँदै कारबाही गर्न माग गरेको छ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्न राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।
राखेप उपाध्यक्ष कोइरालाले पीडित खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग राखेपबाट गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।
भदौ ८ गते राति झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीयवासी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातीय विभेदयुक्त गालीगलौज गर्दै चन्द्रकला र उनका श्रीमान् सुमन खातीमाथि आक्रमण गरेका थिए।
लामगादेले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा दुई स्वर्णपदक जितेकी थिइन्। उनी नेपाल पुलिस एकेडेमीकी खेलाडी हुन्। उनको अहिले झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
यसअघि नेपाल एथ्लेटिक्स संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायत सरोकारवाला निकायले गर्भवतीसमेत रहेकी कीर्तिमानी खेलाडी चन्द्रकलालाई कुटपिट गर्नेलाई कडा कारबाही हुनुपर्ने मागसहित विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।