काठमाडौं-इंग्ल्यान्डका गोलकिपर डियन हेन्डर्सन सन् २०२५ सम्म म्यान्चेस्टर युनाइटेडमै रहने भएका छन्। हेन्डर्सनले युनाइटेडसँग बुधबार पाँच वर्षको नयाँ सम्झौता गरेका छन्।
२३ वर्षीय हेन्डर्सनले गएको दुई सिजन भने लोनमा सेफिल्ड युनाइटेडबाट खेलेका थिए। १४ वर्षको उमेरदेखि नै म्यान्चेस्टर युनाइटेडमा रहेका हेन्डर्सनले आफू पहिलो रोजाईको गोलकिपर बन्ने लक्ष्यसहित ५ वर्षको सम्झौता गरेका हुन्।
हेन्डर्सनले सेफिल्ड युनाइटेडका लागि ८६ खेल खेलेका छन्। २०१८ मा सेफिल्ड प्रियिमर लिगमा बढुवा हुँदा उनकाे निकै ठूलो योगदान थियो। प्रिमियर लिगको गएको सिजनमा सेफिल्ड युनाइटेडले नवौं स्थान हात पार्दा हेन्डर्सन पहिलो रोजाईका गोलकिपर थिए।
नयाँ सम्झौताले नयाँ ऊर्जा थपिएको हेन्डर्सनले बताएका छन्। उनले भनेका छन्, ‘प्रशिक्षक र क्लबले ममाथि विश्वास गरेर यो अनुबन्धन गरेका छन्, यो कुराले मेरो लागि निकै अर्थ राख्छ। एक गोलकिपरको रुपमा मेरो संघर्ष जारी रहन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।