काठमाडौं– एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गर्नेलाई सरोकारवालाहरुले कारबाहीको माग राखेका छन्।
नेपाल एथ्लेटिक्स संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायत सरोकारवाला निकायले गर्भवतीसमेत रहेकी कीर्तिमानी खेलाडी चन्द्रकलालाई कुटपिट गर्नेलाई कडा कारबाही हुनुपर्ने मागसहित विरोध गरेका हुन्।
झापाको चारआलीमा जातीय विभेदसहित चन्द्रकला र उनका श्रीमानमाथि सोमबार राति कुटपिट भएको थियो। छिमेकी दुर्गा श्रेष्ठ र उनकी पत्नीको कुटाइबाट चन्द्रकला घाइते भएकी थिइन्। चन्द्रकला ७ महिनाको गर्भवती हुन्। चन्द्रकलाको अहिले अस्पतालमा उपचार भइरहेको नेपाल एथ्लेटिक्स संघले जानकारी दिएको छ।
चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सटफुट र ज्याब्लिन थ्रोमा दुई स्वर्ण पदकसहित राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। संघले प्रेस विज्ञप्ति निकाल्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग राखेको छ। त्यस्तै संघले उनको स्वास्थ्य उपचारका लागि २१ हजार सहयोग पनि गरेको छ।
त्यस्तै, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि प्रेस विज्ञप्ति निकाल्दै राष्ट्रका गहना खेलाडीमाथि कुटपिट गर्नेलाई कडा कारबाही हुनुपर्ने माग राखेको छ। त्यस्तै, खेलाडी संघले जातीय विभेदसहितको कुटाईविरुद्ध संघ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।