काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको हल्लाले शेयर बजार फेरि उचालिएको छ। नियमअनुसार संसद नरहेको अवस्थामा बढीमा ६ महिनासम्म मन्त्री हुने व्यवस्थाअनुसार उनी अब मन्त्री हुन नसक्ने आँकलन गरिएको छ। शेयर बजारले सधैं नकारात्मक रुपमा हेर्दै आएका खतिवडाको बहिर्गमनको हल्लाले जहिले पनि बजार बढ्ने गरेको छ।
धेरै लामो समयदेखि तल झरिरहेको शेयर बजार एक सातादेखि बढिरहेको छ। बुधबार नेप्से सूचक २१.१० अंकले बढेको छ। सूचक १.४६ प्रतिशतले बढेर १४६२.०३ अंकमा रोकिएको छ। खतिवडा अर्थमन्त्री नरहने हल्लाले ५ कारोबार दिनमा झण्डै ७० अंकको सुधार देखिएको छ।
स्थानीय निकायले निषेधाज्ञा जारी गर्दा पनि दोस्रो बजारमा अनलाइन प्रयोगकर्ता बढ्दा कारोबार रकम बढिरहेको छ। अहिलेको अवस्थामा एउटा लगानीकर्ताले कारोबारका सम्पुर्ण प्रक्रिया घरैमा बसेर अनलाइनबाटै पुरा गर्न सक्छ।
नेपाली नागरिकले विदेशमै बसेर पनि कारोबार गर्न सक्छन्। लगानीकर्ताको सक्रियतासँगै बुधबार दोस्रो बजारमा दुई अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। विगत केही दिनदेखि दोस्रो बजारमा कारोबार रकम बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।