काठमाडौं-दोस्रो बजारमा शेयर खरिद बिक्रीका लागि आवस्यक पर्ने खाता पनि अनलाइनबाटै खोल्न मिल्ने भएको छ। नेपाल स्टक एक्सचेन्जले अनलाइन कारोबारका लागि आवस्यक पर्ने युजरनेम र पासवर्डको आवेदन अनलाइनबाट लिन मिल्ने बनाएको हो।
कोभिड-१९ को महामारीका बेला भौतिक दूरी कायम राखी दोस्रो बजारमा कारोबार गर्न-गराउन र अनलाइन कारोबारलाई थप सहज बनाउन नेप्सेले यस्तो प्रणालीको विकास गरेको हो। यो प्रणालीको विकाससँगै नेप्से तथा सदस्य दलाल व्यवसायीले प्रदान गर्दै आइरहेको सेवालाई मानवीय सम्पर्क यथासम्भव कम गरि अनलाइन सञ्चालन गर्न सकिने नेप्सेले जनाएको छ।
लगानीकर्ताले अनलाईन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिन तथा ग्राहक पहिचान विवरण लाई अद्यावधिक गर्न सम्पूर्ण ब्रोकरहरुको टिएमएस लिंकमा (https://newweb.nepalstock.com.np/brokers) गइ अनलाइन रजिस्ट्रेसन गर्न सक्ने छन्। उक्त लिंकमा गइ रजिस्ट्रर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्ना विवरणहरु भरेर युजरनेम तथा पासवर्ड लिन तथा केवाइसी अद्यावधिक गर्न सकिने नेप्सेले जनाएको छ। यस्तो प्रणालीको विकास भएसँगै डिम्याट खाता भएका लगानीकर्ताले अनलाइन प्रणालीबाटै सदस्य बन्न तथा कारोबार गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।