काठमाडौं- मंगलबार शेयर बजार ७.१० अंकले बढेको छ। विगत चार कारोबार दिनदेखि शेयर बजार लगातार सुधार भइरहेको छ। नेप्से सूचक ०.५० प्रतिशतले बढेर १४३८.७० अंकमा रोकिएको छ। जम्मा १८९ वटा कम्पनीको खरिद बिक्री हुँदा एक अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ।
व्यापार, होटल, विकास बैंक र उत्पादन तथा प्रसोधनको सूचक भने ओरालो झरेका छन्। सबैभन्दा धेरै जीवन बीमाको सूचक १.६९ प्रतिशतले बढेको छ। मंगलबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७.६९ प्रतिशतले बढेको छ। कारोबार सुरु हुनासाथ सुधार देखिए पनि ३० मिनेटपछि विगतको सुधारका क्रममा आर्जन भएको नाफा बुक गर्ने क्रममा सूचक घटेको थियो। कारोबारको पहिलो एक घण्टामा नाफा बुक गर्ने लगानीकर्ताका कारण रातो देखिएको बजार अन्तिम २ घण्टामा सुधार देखियो।
स्थानीय प्रशासनले कोभिड- १९ को नियन्त्रण तथा रोकथामका क्रममा निषेधाज्ञा जारी गर्दा दोस्रो बजारमा अनलाइन प्रयोगकर्ता बढेका छन्।
ब्रोकरहरुका अनुसार अधिकांश कारोबार अनलाइनबाटै हुने गरेको छ। यसले गर्दा बजारको रङअनुसार कारोबार तलमाथि हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।