काठमाडौं- कोरोनाले बन्द भएका काराखानाको बीमा शुल्क ५० प्रतिशत छुट हुने भएको छ। बीमा समितिले कोभिड १९ का कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको बीमा दरमा छुट प्रदान गर्न निर्देशन दिएको छ। हाल बन्द अवस्थाको कारखानाको बीमा दर तीन रुपैयाँ प्रतिहजार कायम रहेकोमा उक्त दरलाई एक तिहाइ कायम गर्नुपर्ने छ।
आर्थिक वर्ष २०७७/७८ को नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए अनुसार कोभिड १९ को कारण बन्द भएका उद्योगहरुको हकमा बन्द अवस्थाको जोखिमको लागि एक तिहाई तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट प्रदान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
यस्तो छुट ८३ दिनको लागि कायम हुनेछ। साथै यातायातको साधनको हकमा गत जेठ ३२ गते समितिबाट जारी भएको परिपत्र अनुसार हुने समितिले जनाएको छ।
उद्योगीले बन्द अवस्थामा रहेका कल कारखानाको बीमा शुल्कमा छुन दिन बीमा समितिमा माग राख्दै आएका थिए। यसअगाडि बीमा समितिमा उद्योग बाणिज्य महासंघ तथा बीमा कम्पनीहरु विच छलफल भएको थियो। बन्दका कारण जोखिम नै नहुने र यस अवधिको बीमा शुल्कमा छुट प्रदान गरिनु पर्ने उनिहरुको माग थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।