काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा अहिलेसम्मकै बढी आवेदन परेको छ। कम्पनीले आजसम्म निष्काशन गरेको प्राथमिक शेयरमा ६ लाख ६ हजार ३३१ जनाले आवेदन दिएका छन्।
आवेदकको आधारमा सबैले न्यूनतम १० कित्ता पाउन सक्ने विश्लेषण गरिँदै आएकोमा अब १० कित्ताको लागि पनि 'लक्की ड्र'मा पर्नु पर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो। यस आधारमा कम्पनीको प्राथमिक शेयर ५ लाख ६७ हजारले १० कित्ता शेयर पाउन सक्छन्। तर ६ लाख ६ हजारले आवेदन दिए सँगै ३९ हजार ३३१ जनाको हात खालि हुने भएको छ।
जम्मा ५६ करोड १० लाख रुपैयाँको लागि आवेदन खुला गरिएकोमा दुई अर्ब ४१ करोड रुपैयाँको लागि आवेदन परेको छ। अधिकांश लगानीकर्ताले २० कित्ताको लागि आवदेन दिँदा रकम भने थोरै देखिएको हो।
दोस्रो बजारमा जीवन बीमा शेयर मूल्य राम्रो हुने भएकाले अधिक लगानीकर्ताको आकषर्ण देखिएको हो। दोस्रो बजारमा सूचिकृत भएको केही समयमै राम्रो मुनाफा आउने भएपछि डिम्याट खाता नभएका लगानीकर्ताले समेत नयाँ डिम्याट खाता खोलेर आवेदन दिएका छन्।
यस अगाडि सबैभन्दा धेरै अजोड इन्स्योरेन्समा ४ लाख ८५ हजार जनाले आवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।