काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको दुई वर्षभन्दा बढी भयो। यो निर्मम घटना यसकारण पनि सबैको चासोको विषय बनेको छ कि, यो प्रकरणमा अहिलेसम्म ‘दोषी’ले सजाय पाएको छैन।
यसबारे कवि, कलाकार, संगीतकार र गीतकारहरुले समेत निरन्तर रुपमा प्रश्न उठाएका मात्र छैनन्, आफ्ना सृजनामा यसको मर्म समेट्न थालेका छन्।
एकजना नेपाली र्यापरले हालै मात्र सार्वजनिकको गरेको एक गीतलाई पनि ‘निर्मला प्रकरण’सँग जोडेका छन्। वास्तविक नाम उत्साह जोशी रहेका हिपहप संगीतकर्मी युनिक पोयटले आफ्नो सृजनासँग जोडेर ह्यासट्याग प्रयोग गरेका छन्, ‘जस्टिस फर निर्मला पन्त।’
‘बलात्कार’ बोलको युनिट पोयटको गीतका शब्दरुले एउटा अपराधको कथा कहन्छ। घरबाट निस्केको पात्रमाथि आइपर्ने बलात्कारको जघन्य र अमानवीय दृश्यलाई गीतको विषय बनाइएको छ। र, उनको यो गीती भाष्य सुन्दा कहीँ न कहीँ निर्मला प्रकरण र यस्तै निर्मम घटनाहरुको झल्को मिल्दछ। त्यसैले उनले गीतमार्फत् नै भनेका छन्, ‘त्यही पुरानो कथा, मात्र पात्र फरक’।
न्याय नपाएपछिको निर्मलाको आत्माले पक्कै पनि हाम्रो अनुसन्धान र न्यायिक प्रणालीप्रति प्रश्न गरिरहेको होला। अन्यायको ज्वालामा अरु धेरै निर्मलाहरुको ‘स्पन्दन’ खरानी भएको होला। त्यसैले त न्यायका लागि कवि कलाकारहरु पनि यो विषयलाई मुखरित गरिरहेका छन्।
कोहीले आफ्नो फेसबुकमा प्रश्न उठाइरहेका छन् त कोहीले ट्विटरमा ‘ह्यासट्याग’ चलाइरहेका छन्।
महिलाहरुका लागि ठानिने चाड तीजको छेको पार्दै अर्का लोकप्रिय गायक तथा संगीतकर्मी प्रकाश सपुतले पनि ‘बरिलै बदला’ बोलको कथात्मक गीत सार्वजनिक गरेका थिए। महिला हिंसाविरुद्ध सार्वजनिक गरिएको सो गीतको सारले पनि ‘निर्मला मर्म’लाई प्रतिबिम्बन गरेको समीक्षा गरिएको थियो। लोक गायिका देवी घर्ती मगरको आवाज रहेको ‘बरिलै बदला’मा एउटी चेलीको बलात्कारपछिको हत्या र त्यसको बदलाको परिकल्पनालाई विषय बनाइएको छ।
हुन त समाज, सत्ता र घटनाहरुबारे कथा भन्ने नेपाली लोक संगीतमा आफ्नै परम्परागत शैलीहरु छन्, जस्तो गन्धर्वको कर्खा। तर पछिल्लो छिमलमा विषयवस्तुलाई सुगम र लोकगीतका अरु विधाहरुले समेट्न थालेको देखिन्छ। यही कडीमा रुपमा आएका युनिक पोयट र प्रकाश सपुतका पछिल्ला सृजनाहरुले त्यत्तिकै प्रशंसा पनि बटुलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।