काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति आर्थिक वर्ष २०७५/०७६ को तुलनमा आर्थिक वर्ष २०७६/०७७ मा ३४.९ प्रतिशतले वृद्धि भएको जनाएको छ।
२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड पुगेको बैंकले जनाएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड पुगेको छ।
२०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७६/७७ को आयातलाई आधार मान्दा बैकिङ् क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७६/०७७मा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.८ प्रतिशत र ३३.१ प्रतिशत रहेको बैंकले जनाएको छ।
२०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।