काठमाडौं- आर्थिक वर्ष २०७६/०७७ मा मात्रै सेयर बजारमा नेप्से सुचकाङ्क १ सय ३ अंकले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
२०७६ असार मसान्तमा १ हजार २ सय ५९ बिन्दु रहेको नेप्से सूचकाङ्क २०७७ असारमा १ हजार ३ सय ६२.४ बिन्दु पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
२०७७ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड पुगेको छ। २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो। बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २०७६ असार मसान्तमा ४५.३ प्रतिशत रहेकोमा २०७७ असार मसान्तमा ४७.६ प्रतिशत पुगेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ। सूचीकृत कम्पनीहरुमध्ये १४७ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्।
२०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २ सय १५ रहेको थियो।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.२ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.३ प्रतिशत रहेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ असारसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य ४ खर्ब ७३ अर्ब ३९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७६/७७ मा ३१ अर्ब ९४ करोड बराबरको डिबेन्चर, २८ अर्ब १५ करोड बराबरको बोनस शेयर, १३ अर्ब ६४ करोड बराबरको साधारण शेयर, ५ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ६९ करोड बराबरको हकप्रद शेयर र १५ अर्ब १४ करोड बराबरको अन्य गरी कुल ९९ अर्ब ३० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७६/०७७ मा नेपाल धितोपत्र बोर्डले २३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, ४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, ३ अर्ब ९९ करोड बराबरको साधारण शेयर र १ अर्ब ८० करोड बराबरको म्युचुअल फण्ड गरी ३३ अर्ब ६६ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।