काठमाडौं- आर्थिक वर्ष २०७६/७७ मा खुला बजार कारोबार मार्फत् कुल २ खर्ब १९ अर्ब १६ करोड तरलता प्रवाह भएको छ।
जसमा रिपोमार्फत् १ खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत् १ खर्ब ३ अर्ब २८ करोड प्रवाह भएको छ। तर, आर्थिक वर्ष २०७५/०७६ मा ३ खर्ब २२ अर्ब ४९ करोड तरलता प्रवाह भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरु मार्फत् पटक–पटक गरी कुल ७८ अर्ब तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ।
सोहीअनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ३० अर्ब र रिभर्स रिपोमार्फत् ४८ अर्ब तरलता प्रशोचन भएको बैंकले जनाएको छ। आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा १ खर्ब ३५ करोड तरलता प्रशोचन भएको थियो।
आर्थिक वर्ष २०७६/०७७मा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २१ करोड खुद खरिद गरी ४ खर्ब ९२ अर्ब २४ करोड तरलता प्रवाह गरेको छ। आर्थिक वर्ष २०७५/०७६मा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १९ करोड खरिद गरी ३ सय ६० अर्ब ९१ करोड तरलता प्रवाह गरिएको थियो।
भारतीय मुद्रा खरिद घट्यो
यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा अमेरिकी डलर ३ अर्ब ८२ करोड बिक्री गरी ४ खर्ब ४२ अर्ब १३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब २४ करोडलगायत अन्य विदेशी मुद्रा बिक्री गरी ५ खर्ब १६ अर्ब ९७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।