काठमाडौं- तोकिएको समयभित्र युरिया मल ल्याउन ढिलाइ गर्ने दुईवटा कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले स्पष्टीकरण सोधेको छ। कम्पनीले शुक्रबार ती दुई कम्पनीलाई १७ दिनभित्र (भदौ २०) गतेसम्म ठेक्का सम्झौताअनुसारको मल ल्याइपुर्याउन भन्दै पत्र काटेको हो।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालन नेत्रबहादुर भण्डारीले शैलुङ इन्टरप्राइजेज लिमिटेड र नेपालकै अर्को कम्पनी होनिको मल्टिपल प्राइभेट लिमिटेडलाई स्पष्टीकरण सोधिएको बताए। शैलुङ इन्टरप्राइजेज नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीको कम्पनी हो।
भण्डारीकाअनुसार ती दुई कम्पनीलाई ठेक्का सम्झौताअनुसार तोकिएको समयमा मल नल्याए कारबाही चेतावनीसहितको पत्र पठाइएको हो। ‘टेण्डरको पुरानो डकुमेन्टअनुसार ४२ दिनमा पहिलो सिपमेन्ट, ७७ दिनमा दोस्रो सिपमेन्ट र ११७ दिनमा मल सम्बन्धित ठाउँमा पुगिसक्नुपर्ने हो। तर उनीहरुले आइतबार १०३ दिन बितिसक्दा पनि सिपमेन्टकै क्रममा रहेको छ भनेका छन्।’ भण्डारीले भने।
मल बाटोमा ढुवानीका क्रममा रहेको भन्ने जानकारी कृषि सामग्री कम्पनीलाई दिनुपर्ने भएपनि ती कम्पनीले भने अहिले मल कहाँ आइपुग्यो भन्ने जानकारीसमेत गराएको छैनन्। ‘मध्यपूर्वी देशबाट ल्याउँदैछौं भनेर थप समय मागेका छन्। अहिले कहाँ आइपुग्यो भन्ने हामीलाई जानकारी छैन।’ उनले भने।
तोकिएको समयमा मल ल्याउन नसके जमानत रकम जफत गर्नेलगायत कारबाही गरिने पनि उनले बताए।
यी दुई कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दामाथि अहिले अनुसन्धान चलिरहेको छ। कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको टेण्डर नम्बर केपिएन १०५–०७७/७७ (२७ फेब्रुअरी २०२०) र केपिएन १०६–०७७/७७ (३ मार्च २०२०) मा क्रमशः २५/२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्न मूल्यांकन पेश गर्ने यी दुईवटा कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
पहिलो ठेक्का पाउने शैलुङ इन्टरप्राइजेज लिमिटेड र दोस्रो ठेक्का पाउने नेपालकै अर्को कम्पनी होनिको मल्टिपल प्राइभेट लिमिटेडले मल उत्पादक कम्पनीको झुटो विवरण पेश गरेको भन्दै अख्तियारमा उजुरी परेको हो।
यी दुवै कम्पनीले टेण्डर डकुमेन्टमा संलग्न गरेका ‘म्यानुफ्याक्चरिङ अथोराइजेसन लेटर’ र ‘ननकन्टामिनेसन सर्टिफिकेट’ सम्बन्धित उत्पादक कम्पनीबाट ल्याएको नभई बिचौलिया व्यापारिक कम्पनीबाट ल्याएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ।
यसैबीच राष्ट्रिय किसान आयोगले आइतबार एक विज्ञप्ति निकाल्दै किसानले युरिया मल नपाएको भन्ने गुनासो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।