काठमाडौं- कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा गर्दा समग्र क्षेत्र अस्तव्यस्त हुँदा समेत शेयर बजार चम्किएको छ। साताको पहिलो दिन नेप्से सूचक १२.७७ अंकको सुधार भएको छ। सूचकमा सुधार आएसँगै कारोबार रकम एक अर्ब १० करोड रुपैयाँ नाघेको छ।
सुरुवाती समय गिरावट देखिएको बजार पछिल्लो दुई घण्टामा सुधार हुँदा लगानीकर्ताको सहभागिता बढेको थियो। व्यापार हाइड्रोपावर र म्युचुअल फण्डको सूचक ओरालो झरे पनि बाँकी सूचकमा सुधार आएको छ। बीमा कम्पनीको सूचकमा उल्लेख्य सुधार आउँदा समग्र बजारलाई नै टेवा दिएको छ। बीमा कम्पनीको कारोबारले समग्र कारोबार रकमलाई नै सुधार पु याएको हो।
निषेधाज्ञाका कारण लगानीकर्ता ब्रोकर कार्यालय आउन सक्ने अवस्था छैन। लगानीकर्ताले अनलाइनमार्फत् आफैंले कारोबार गर्न सक्छन्। अर्कोतर्फ ब्रोकरले फोनमार्फत् कारोबार गराउँदै आएका छन्। लगानीकर्ताले फोनबाट दिएको अर्डरलाई पनि ब्रोकरले कारोबारमा समावेश गर्ने भएकाले हाल कारोबारमा कुनै अवरोध छैन।
सबैभन्दा धेरै समृद्धि फाइनान्सको ९.७७ प्रतिशतले सुधार भएको छ। सबैभन्दा धेरै मूल्य घट्नेमा जलविद्युत कम्पनी रहेका छन्। आइतबार १०६ वटा कम्पनीको मूल्य बढ्दा ३७ वटाको घटेको छ भने २२ वटामा कुनै परिवर्तन भएन। आइतबार नेप्से सूचक ०.९१ प्रतिशतले सुधार भएर १४१०.३४ अंकमा रोकिएको छ।
निषेधाज्ञाका कारण लगानीका सम्पुर्ण क्षेत्र बन्द भएका छन्। अन्य लगानीका क्षेत्र बन्द हुँदा लगानीकर्ताको ध्यान शेयर बजारमा छ। बजार सुधार हुने लक्षण देखिनेबित्तिकै ती लगानीकर्ता बजारमा सक्रिय हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।